Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

यो एउटा रङ

आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, कुनै इन्फर्मेसन टेक्नोलोजीका धुरन्धरले पत्ता लगाउन सकेका छैनन् । न त यसको स्टोरेज क्यापासिटीका बारे साधिकार कसैले बोलेका नै छन् । शहरहरूको दृश्यचित्र लगभग यस्तै नै हो । आँखाले यसलाई जति समेटन सक्छ, सत्य त्यति मात्रै हो । सत्यको कुनै सीमा हुँदैन । शहरको पनि कुनै सीमा हुँदैन । मानिसका असीमित आकांक्षासँगै यसका सीमाहरू अनियन्त्रित हिसाबले फैलिन थाल्दछन् । जलकुम्भीका जराहरू जस्तै ।

 

शहरका सत्यहरू विविध खण्डमा बाँडिएका हुन्छन् । बिहानको समयमा संसारको कुनै पनि शहरको अवस्था टीठलाग्दो हुन्छ । फुंग उडेको । नसाको सुरमा घरबासको ठेगाना हराएका केही मानिसहरू नक्साको खोजीमा सडकमा भौंतारिइरहेका भेटिन्छन् । शहरका ठूलठूला म्यान्सन र स्क्वायरहरू गार्वेज कन्टेनर जस्ता देखिन्छन् । शब्द र चित्र दुवैमा शहरको नांगो तस्वीर उतार्नु छ भने बिहानको समय बेजोडको हुन्छ । सबभन्दा रमाइलो कुरा, शहरमा बिहान कति बजे शुरु हुन्छ ? त्यो कसैले पत्तो पाउनै सक्दैन ।  

काठमाडौंमा दशैंपछि जाडो मौसम शुरु भैहाल्छ । दशैं सकिनासाथ, जब शरीरले पातलो स्वेटर अथवा हलुका ज्याकेटको चाहना राख्न थाल्छ, त्यसबेला बुझ्नुपर्दछ, अब विक्रम वर्षको अन्त्यसम्मका लागि काठमाडौं आफ्नै गतिमा चिसिँदै जानेछ । दुई चार धार्नी गोलले भरिएका दुई चार दर्जन मकलले काठमाडौं शहरको चीसोलाई अहिलेसम्म पनि धान्दै आएको छ । कडा भए पनि छाला छेडेर मुटुमा घुसिहाल्न हिचकिचाउने खालको चीसो । हात र गोडाका नङमा आक्रामक ढंगले घुसे पनि अत्याउने मात्रै । एकछिन चियाको तातो गिलास समातेपछि आफैं लाचार हुने गजबको चरित्र बोकेको चीसो ।

तर, कहाँ पाउनु चियाको तातो गिलास अथवा कफीको तातो कप ? पहिले दोबाटोमा चियाका केतली बसालेर स्पेसल चिया बनाउनेहरू अहिले पेशा बदलेर अन्यत्र लागेका छन् । कफीको त चलनै छैन । आधा रातसम्म विभिन्न जातका रक्सी बेच्ने क्याफेका साहूहरू बिहान पसल खोल्दैनन् । एक कप चियामा एक रुपैयाँसम्म पनि नाफा हुन छाडेपछि किन खोल्नु क्याफे ? मापसे अभियानको यति चर्को सफलतापछि स्वाभाविक हुन्थ्यो काठमाडौंमा बिहानैदेखि कफी कल्चरको प्रारम्भ । तर कफी यथार्थ हो । त्यो जहिले पनि तीतो हुन्छ । दूध हालेको चियाले ग्यास्टि्रक बढाउँछ ।

शहरमा 'मर्निंग वाकर'हरू घट्दा छन् । मानिस मानिससँग भाग्न थालेको छ । न भागेर पनि गर्नु के र ? घटनामा नवीनता छैन । मर्निंग वाकमा भेटेर एकआपसमा बाँड्ने गसिप पनि छैन । मानिसले थाहा पाउनुभन्दा पहिले नै सबै गसिपले समाचारको आकार लिइसकेका हुन्छन् । त्यसैले पनि, मानिस मेसिनसँग रमाउन थालेको छ । घरको कोठामा बसेर मर्निंग वाकको फाइदा र आनन्द दुवै एकसाथ लिन सकिने मेसिनहरू बजारमा छ्यापछ्याप्ती छन् । मानिसभन्दा महँगा भए पनि यी सजिला छन् । मेसिनसँगको उसको बढ्दो अपनत्वले समाजलाई संवेदनहीन बनाए पनि ऊ आफूलाई आफ्नै कैदखानामा सुरक्षित रहेको सोच्न त पक्कै स्वतन्त्र छ । शहरका सीमाले असीमित स्वतन्त्रता खोजे पनि मानिसले जति भोग्न पाएको छ स्वतन्त्रता, त्यतिमा नै ऊ सन्तुष्ट देखिएको छ । असीमित स्वतन्त्रता उसका लागि सुरक्षा चुनौती हो ।

जे जति मर्निंग वाकरहरू जोगिएका छन् ती रनभुल्ल छन् । उनीहरू एकआपसमा इतरिंदै कलेज जान हिंडेका केटाकेटीलाई फुटपाथमा उभिएर हेर्दछन् र कफीको तलतल बढाउँछन् । आफ्ना वरिपरिका परिस्थितिका निर्णायक तिनै होलान् । तर उनीहरूले त्यस्तो मान्यता पाएका छैनन् ।

चित्रहरूको फलकमा पोतिने र मेटिने रंगहरू इन्द्रधनुषी मात्रै हुँदैनन् । कलाकारहरू पनि प्राविधिक भइसकेका छन् । कालो रंगको कल्पना गर्छन् र कम्प्युटरबाट खैरो रंग निकाल्छन् । उनीहरू सकेसम्म कालो र खैरो बाहेक अरू कुनै रंगको अस्तित्व नै स्वीकार गर्दैनन् ।

तर, फागुन ६ गते बिहान शहरमा एउटा यस्तो रंग पनि देखियो जसको कल्पना अहिलेसम्म कुनै कलाकारले गरेका छैनन् । त्यो रंग एउटा मानिस थियो जसको आकार उसले घचेड्दैै ल्याएको ठेला फुटपाथमा अड्याएपछि मात्र स्पष्ट भयो । उसले सलाम-नमस्ते केही नभनी मतिर फर्किएर बोल्यो, 'राधेश्याम ।' मैले अनायाश नै जवाफ फर्काएँ- राधेश्याम । र, सोधें, 'तिमी किन चिया-कफी नबेचेर यो फलफूल घिच्याएर हिँडेका छौ ?'

'मैले खान नपाएर यो ठेला घिच्याएर व्यापार गरेको होइन नि । काम नगरी बस्दा बानी बिगि्रन्छ । तास-जुवा र जाँड-रक्सीको कुलत लाग्छ । त्यता नलाग्न अंगुर र सुन्तला बेच्न थालेको । राम्रै छ,' ऊ बोल्न थाल्यो । म ऊ कुन रंगको हो भनेर खुट्याउने प्रयत्नमा लागें ।

'रामग्राम थाहा पाउनुभएको छ ? छैन होला । परासी बजार क्या । अब त थाहा पाउनु भो होला । त्यही हो मेरो घर । पहिलेको घर त पुरानो नैकाप नै हो । म अब छोराको पास्नीका लागि उन्नाइस गतेसम्मका लागि घर हिंडें । मेरो चल्ताफिर्ता दोकान त्यसबेलासम्म बन्द रहनेछ । अरूलाई पनि सुनाइदिनुहोला । मानिसले मलाई कुहिएको फलफूल नबेच्ने केटो भनेर चिन्छन्,' उसले अंगुरका झुप्पा मिलाउँदै बोल्यो एकै सासमा ।

मैले सोध्नै आँटेको थिएँ उसको नाम । उछिनेर ऊ आफैंले सुनायो, 'केशव मल्ल हुँ म ।' त्यसपछि अलिकति जोड दिएर बोल्यो, 'ठकुरी । एकतीस सालमा जन्मिए पनि बिहे गरेको पाँच वर्ष भयो । पाँच वर्षपछि मात्रै छोरा जन्मियो ।'

'विदेश किन गएनौ त ? दौंतरीहरू त उतै होलान् । पैसा टन्नै कमाउने थियौ नि,' मेरो प्रश्नले उसलाई भड्कायो । तात्तिंदै जवाफ दियो उसले, 'त्यस्ता अर्काको गुलामी गरेर पैसा कमाउनु छैन । गर्न सके यहीं कमाइन्छ पैसा । जो गए अब ती मेरा दौंतरी रहेनन् । विदेश-सिदेश कहीँ गइन्नँ । आफू त आमाकै दूधले पोसिएको मान्छे । बाबुको घुँडो चुसेर मोटाउनु छैन मलाई ।'

त्यसपछि उसले मतिर फर्किएर पनि हेरेन ।

म सोच्न थालें, यो पनि शहरको एउटा रंग हो । नखुइलिने ग्यारेन्टी भएको एउटा नेपाली रंग । खालिस नेपाली रंग । मेरा आँखाले ठम्याएको एउटा सत्य थियो यो । शहरको सत्य ।

© Kishore Nepal. All rights reserved.