Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

सागर र शिखरको कथा

बेला यस्तो पनि थियो, महासमुद्रको आक्रामक र उत्तेजक छाल जस्तै उग्र वन्दथ्यो सागर । पानीको भित्री सतहबाट उठदै उठदै, मानिसले कल्पनागर्नै नसक्ने उचाईमा पुगेर, त्यो छाल वगरमा वज्रिन्थ्यो, र, चर्को घामले तातेको वगरमा एकहुल माछा हुत्याएर, फेरी पानीमा छलाङ माथ्र्यो । छाल फर्किएपछिका केही निमेष चारैतिर शान्ति छाउँथ्यो । केही भएकै छैन जस्तो । समुद्री चराहरु चिरविराउन थालेका मात्रै हुन्थे, सम्पूर्ण वेग सहित छाल फेरी फर्किन्थ्यो । बगरको तातो बालुवामा छटपटाइ रहेका हुन्थे माछाहरु । केही साना माछाहरु जसोतसो उफ्रिदै पानीमा पुगेपनि ठूला माछाहरुको छटपटी साह्रै दर्दनाक हुन्थ्यो ।

 

सागरको छाल महासमुद्रको गर्भदेखि नै मडारिएर उफ्रिंदा कहिले त्यसले सामान्य माछाहरु मात्र ल्याउँथ्यो, र, कहिले माछा वाहेक अरु जलचरहरु मात्रै होइन, समुद्रभित्रका वर्षौदेखि लेउ जमेका ढुंगा र त्यसमा टाँसिएका समुद्री बनस्पती समेत जरैदेखि उखेलेर ल्याउने गर्दथ्यो । कहिलेकहीं समुद्रभित्रका जलचर र वनस्पति वाहेक केही स्थूल बस्तुहरु पनि हुन्थे, जसको चमक वगरको परपरसम्म छरिएर चम्किइ रहेको हुन्थ्यो । नयाँ पुस्ताका माझीका लागि ती वस्तुहरु अदभूत थिए र पनि उनीहरुलाई त्यसले आकर्षित गर्दैनथ्यो । कतिको मनमा लाग्थ्यो होला, समुद्रको यो विशाल वगरमा यस्ता गुच्चाजस्ता ढुंगाहरु कति टल्किन्छन कति  अनुभवी माझीहरु भने जतनसाथ तिनलाई टिप्थे र खुशी हुँदै घर फर्किन्थे । कुनै एक रात आफनो वावुबाट रमैयाले त्यस्तो टल्किने वस्तु मोती हो भन्ने दिव्य ज्ञान पाएको थियो ।
सागरको छाल फर्किदा अक्सर आफूले वगरमा हुत्याएका जलचरहरुलाई उत्तिकै फूर्तिसाथ समेटेर महासमुद्रमा फर्काउने गर्दथ्यो । पछिल्लो पटक, छालले ती मध्ये धेरै जलचर समेटन सकेको थिएन । तातो वगरमा छटपटाईरहेका पानी विनाका माछाहरु टिप्न माझी र उनका केटाकेटीहरु हुर्दुराईरहेका थिए । यति भयंकरको छाल उठेको त कहिल्यै देखेको थिईन, माछा मार्दा–मार्दै अनुभवले चाउरिएको एउटा माझी भन्दै थियो । भय मिश्रित आश्चर्यले उसको आंखाको चमक धमिलिएको थियो ।
किनारामा फैलिएको विशाल वगरमा छरिएको घाममा टल्किने बालुवा र त्यसमा मिसिएका सुनौला कणको किरणतिर तानिथ्यो सागर । त्यतिवेला उसको आकृति यौवनको उन्मादले उन्मत्त भएको बेला सुन्दर किन्नरीलाई देखेर उत्तेजित भएको किन्नरको जस्तो देखिन्थ्यो ।
त्यसपछि विस्तारै, तर धारिलो बेगले, छाल वगर तिर फैलिन थाल्थ्यो । माछाको हुललाई समेटेर उ महासमुद्रमा फर्किन्थ्यो । उ फर्किन नपाउदै अर्को छाल फेरी त्यसरी नै, त्यतिकै आक्रामक र उत्तेजक बनेर, किनारको अर्कोतिर त्यत्तिकै वेगले छलाङ मार्दथ्यो । अघिल्लो मध्यान्ह देखि आधा रातसम्म महासमुद्र छालहरुको छलाङ मार्ने खेलमा व्यस्त रहन्थ्यो । विहानको घाम पारिलो नभएसम्म शान्त रहन्थ्यो समुद्र । थाकेर ओईलाएको इतिहास जस्तो । घाम जति जति चर्किदै जान्थ्यो, त्यति नै छटपटाउन थाल्थ्यो सागर । त्यसपछि उ विस्तारै स–साना लहरका रुपमा आफ्नो नियमित खेलको अभ्यास शुरु गथ्र्यो । विहानै ट्युववेलको तातो पानीले नुहाएर ँश्री हनुमान चालिसा” को कण्ठस्थ पारायण गर्दै लंगौटी कसेर कुश्तिको अखडामा जान तयार भएको पहलवानको शरीरमा उर्जाको संचार भएजस्तो सागरका लहरहरु अपरान्हसम्म शक्तिशाली भै सक्थे । लहरहरुको उर्जा हुन्थ्यो वेगले चल्न थालेको हावा । गतिसंगै हावाका सुसेलीहरु वरपरका वस्तीहरुलाई आतंकित तुल्याउने गरि चर्किन्थे । मझिनीहरु वगरमा खेल्न गएका आफ्ना छोरा र नाती–नातिनीलाई बोलाउन थाल्थे । जतिसुकै चर्को स्वरले कराएपनि मझेनीहरुको आवाज हावाको चर्को सुसेलीमा कतै हराउँथ्यो र, कराएको केही वेरपछि मात्र, कतै निकै पर, पृष्ठभूमिबाट आएको गुन्जनजस्तो सुनिन्थ्यो । परार साल आफ्नो माईलो छोरातिरको सातौं सन्तान अनमोललाई तिव्र गतिको हावाले घचेडेर छालमा फ्याँकि दिएदेखि रामनकी आमा विचलित थिई । छालमा लपेटिएको अनमोल समुद्रको गर्भमा पुग्दा नपुग्दै हिंस्रक जलचरहरुले उसको कपालसम्म पनि बांकी नराखी पूरै शरीर खाई सकेका थिए । त्यो सांझ मझिनी आमालाई माईली बुहारीले खाना खान वोलाएकी थिई । आमाले मन पराउँछिन भनेर माईलो छोराले बजारमा सबभन्दा चर्को भाउमा विक्ने जलकपुर माछा विहानै ल्याई दिएको थियो । मझिनी आमा माईलो छोराको घरमा पुग्दा हावाको चर्को सुसेली सुस्ताउन थालिसकेको थियो । उसका चारजना नाती र दुई नातिनी आंगनमा वालुवाका कणहरुबाट सुन विन्ने खेल खेल्दै थिए । त्यहाँ अनमोल एकजना मात्रै थिएन । मझिनी आमा अनमोलको सम्झनाले सुर्ताउन थालेकी थिइ । मनमा कुरा खेली रहेको थियो – कुनै न कुनै अनिष्ट पक्कै भएको छ । नभए त, त्यो केटो अहिले सम्म घर फर्किई सकेको हुन्थ्यो ।
संघारको छेउमा टुक्रुक्क बसेर सुर्ताउदा सुर्ताउदै उसको माईलो छोरो जाल काँधमा राखेर हातमा वल्छी र कम्मरमा पेटारो हल्लाउदै र हल्लिदै घर आईपुगेको थियो । मझिनी आमा उ संगै घरभित्र पसेकी थिइ । बाबु घर फर्केको देखेपछि आंगनमा खेली रहेका केटाकेटी घरभित्र पसेर बाबुको पेटारो खोतल्न थालेका थिए । खानेवेला मझिनी आमाले अनमोल अबेरसम्म पनि घर नफर्किएको पिरलो पोखेकी थिई । छोरा बुहारीले उसका कुरामा खासै चासो नलिएपछि बुढी निकै गनगनगर्न थालेकी थिई । पछि माईलो सहज हिसावले बोलेको थियो, आईहाल्छ नि । कतै अल्झिएको होला । माझीको छोरो, पानीबाट जोगिन त जानेकै छ । देवतालाई मन परेको भए उतै गर्भतिर तानेका होलान । माइलोको वोलीमा लेसमात्र पनि विषाद थिएन । त्यो वाक्य त्रूmर थियो । कर्कश ।
उनीहरु चुल्होलाई गोल घेरेर खान बसेका थिए । मझिनी बुढीले माछाको टुक्रो मुखमा हाल्दै भनेकी थिइ – मीठो छ । माईलीको त हातमा नै स्वादको मिठास वसेकोछ । सुनेर माईली बुहारी गमक्क गम्किएकी थिई । मझिनी बुढीले टाउको उठाएर उसको अनुहारको चमक हेर्न जरुरी ठानेकी थिइन । एकछिनसम्म सबै खान व्यस्त भएका थिए । सबैको थाल रित्तिएपछि खाना थप्दै माईली बुहारीले, अलिकति लाज मान्दै, अचानक नै, आफु आठौं सन्तानकी आमा हुन लागेको सुनाएकी थिई । सुनेर माईलो पुलकित भएको थियो भने छोराको खुशीमा साथ दिदैं मझिनी बुढी बोलेकी थिई, छोरै पाएस, यो पटक पनि । त्यसपछि फेरी मझिनी बुढीको ध्यान अनमोलतिर तानिएको थियो । कहां गयो होला केटो ? उसले आवाज निकालिन । मनमनै सोची, अनिष्ट भै सक्यो ।
हो त, मझिनी वुढीले अनुमान गरे जस्तै अनिष्ट भै सकेको थियो । छाल खेल्दा खेल्दा सागर शिथिल भै सकेको थियो ।
सागर जतिसुकै आक्रामक भएपनि वरपरका वस्तीहरुमा वस्ने मानिसको जीवनमा अलिकति पनि असर पारेको थिएन । कतिसम्म भने, माझीहरु कहिलेकहीं नदीमा आएका प्रलयकारी वाढीका वारेमा सुन्दथे । सयौं जीवित वस्तीहरु डुवाउँदै र वगाउँदै आउने त्यस्ता नदीहरुको अस्तित्व समुद्रसंग जोडिने वित्तिकै लोप हुन्थ्यो । समुद्रको छेउमा वस्ने माझीहरुको जीवनमा वाढीको कुनै अस्तित्व नै थिएन । उनीहरु जान्दथे भने मात्र छाल जान्दथे । छाल नै थियो उनीहरुको जीवनको आधार । समुद्र छेउका माछा जालमा पर्न मान्दै मान्दैनथे । सरकारी मान्छेहरु समुद्र घेरेर वसेका थिए । समुद्रमा डुंगा चलाएर माछामार्न सरकारले निषेध गरेपछि सतहवाट माछा सोहोरेर वगरमा फाल्ने छालहरु नै त थिए किनाराका माझीको जीवनको आधार ।
समान्तर कलकत्ताको कुनै जहाज कम्पनीको गार्ड क्वार्टरमा जवानहुँदै गरेको सागरको मन–मष्तिकमा कतै पनि समुद्रसंग नजोेडिएको देशका मान्छेले भोग्ने गरेको तनाव थिएन । प्रल्हाद माड्सावको होमवर्क नवुझाए वापत सजाय सहँदै उसले पासमार्क मात्रै ल्यायो । तर, प्रल्हाद माड्सावको – आँखाको दृष्टि सीमाभित्र आकाश जति समेटिन्छ समुद्र पनि त्यति नै समेटिन्छ – भनाइले भूगोलमा भन्दा पनि समुद्रमा सागरको चाख वढायो । मृत सागरदेखि प्रशान्त महासागरसम्म समुद्र जोडिएको थियो । त्यहाँ कतै विभाजन थिएन ।
त्यसपछि यस्तो समय आयो जव सागरका वावु स्टीमर दुर्घटनामा समुद्रको भित्री तहमा गाडिए । आमा कलकत्ताको धूलो र तुवाँलो जस्तो देखिने धूवाँमा हराइ सकेकी थिइन । सागर पहाडतिर फर्कियो र पढन थाल्यो ।
उसको सम्झना टडकालो थियो । प्रल्हाद माड्सावले भूगोल पढाउनु हुन्थ्यो स्कूलमा । यो पढनैपर्ने अनिवार्य विषय थियो । लद्दू विद्यार्थीहरुको यो समूहमा धेरै यस्ता थिए जसलाई नियमित रुपमा नै क्लासरुमकोे वेन्चमा उभिएर सजायँ भोगी रहेको देख्न सकिन्थ्यो । क्यामरा साह«ै महंगो, फेसबुकको त कल्पनै गरिएको थिएन । आज भएको भए त रेकर्ड नै विग्रिने थियो । प्रल्हाद माड्सावले सागर र महासागरको भेद वताउनु भएको थियो । अर्थात सागरहरु जहाँ पानीको अथाह अनन्तमा मिसिन्छन त्यहीवाट शुरु हुन्छ महासागरको सीमा ।
लद्दूहरु इतिहासमा पोख्त हुन्थे ।
इतिहास भनेर पढेका धेरै कुरा त कथा पो रहेछन । वास्तवमा भूगोलभन्दा धेरै कठिन रहेछ मानिस, समाज र देशको इतिहास । विद्यार्थीहरु इतिहासलाई कण्ठस्थपार्ने अभियानमा लाग्थे । राजाको टाउकोमाथि सुनौलो जलप लगाएर राखिएको पित्तलको चरा उड्यो कि उडेन ? त्यो नउडेसम्म राजाको मृत्यु हुनेछैन । राजाको टाउकोमा चरा राखेदेखि अहिलेसम्म धेरैपटक धर्तीको जरा हल्लाएर भूकम्पहरु गइसके । राजा र उसका रानी–महारानीहरु, उसका पध्दति र मन्त्रीहरु, उसका भारदारहरु, उसका धाई–सुसारेहरु सवै लाखापाखा लागी सके । तै पनि चरो उडेको छैन । कहिले उडछ ? मानिसको जिज्ञासाको अन्त्य आजसम्म भएको छैन । अप्रतीम सौन्दर्य वोकेको पहाडको रहस्य नै यही हो – पहाडले घाम र जूनमात्रै छेक्दैन, हावा र वतासमात्रै नियन्त्रित गर्दैन, मानिसका आँखा कहिल्यै लोलाउन र थाक्न पनि दिंदैन । पहाडले घेरिएको देशको धेरैजसो ठाउँमा उज्यालोेको प्रवेश ढिलै हुन्छ । त्यसैले होला, पहाडको सार्वभौम अधिकार रहेको यो देशमा विज्ञानले संसारमाथि दिग्विजय गरेको पत्तो लगाउने कोलम्वस कोही देखा परेन ।
कलेजमा गुणराज सरको क्लासलिन थालेपछि मात्र विद्यार्थीहरुले थाह पाए, इतिहास घोक्ने होइन वुझने विषय रहेछ । त्यतिवेलासम्म धेरै अवेर भै सकेको थियो । इतिहास घोकेकै भरमा समकालीन साथीहरुको एउटा ठूलो समूहले लोकसेवा पास गरेर विभिन्न सरकारी कार्यालयमा पोष्टिंग लिइ सकेको थियो । इतिहासको नाममा कण्ठस्थ पारिएको इतिहासकोे प्रत्येक वाक्यमा वाहुवली शासकले मानिस र जनावरको शिकार गरेका कथाको वेलीविस्तार लगाइएको हुन्थ्यो । सागर आफैं इतिहास पढाउने सर भै सकेपछि उसको आँखामा गोलीको शिकार वनेको निरपराध वाघको निर्जिव शरीरसंगै वन्दूक वोकेर उभिएको शासकको तस्वीर घुमी रहन्थ्यो । इतिहासको नाममा लेखिएका शिकार कथाको वढदो वर्चस्व नै देशको प्रशासनिक पध्दतिको नियति वनेको छ भन्न पाइन्छ कि पाईंदैन ? सागरलाई थाह छैन ।
यो समय पनि आयो, सागर अहिले वाँचेको समय । पहाडहरुको घेरावन्दीमा वस्दा वस्दा उक्ताउन थालेको छ सागर । मनका उद्वेलनहरु छालमा परिणत भएर एकप्रकारको साम्राज्य नै चलाएकाछन । छाल ठोकिने वगर छैन कतैै पनि । काल र तिथीलाई सँधै पन्चकको दोषले छोएकोछ । इतिहासका विग्रह र विकृतिहरुलाई काँधमा वोकेर देश उकालोतिर होइन, निरन्तर ओरालोतिर लागेको छ । पहाड हो, एउटा ओरालो सकिने वित्तिकै भन्ज्यांग आउँछ र त्यसपछि फेरी अर्को ओरालो शुरु हुन्छ । अल्वेयर क्यामुको सिसिफस ढुंगो वोकेर पहाड उक्लिने प्रयत्न गर्दथ्यो । ढुंगो काँधवाट झरेर फेदीमा पुग्थ्यो । उ ढुंगो काँधमा वोकेर आँखाले शिखरको लक्ष्य ताक्थ्यो । पहाडवाट ओर्लिइ रहेका सिसिफसहरुको काँधमा पनि ढुंगो छ । यिनीहरु र क्यामुको सिसिफसका वीच यति मात्रै फरक छ, सिसिफस शिखर जित्ने अभिलाषा राख्दथ्यो भने यिनीहरु शिखरलाई द्रवित आँखाले फर्की फर्की हेर्छन मात्र ।
सागरले कहिले पनि शिखर र सागरको तुलना गर्नै चाहेन । भूगोलले गहिराईमा सागरको सत्य स्थापित गरेकोछ भने उँचाईमा शिखरको । मसानमा एउटा लाश जली रहेकोछ । व्राम्हणहरु हातले कुशको मान्छे वनाएर आगोमा होमी रहेका छन । पन्चक, हो त पन्चकका वेला मरेर मृतकले परिवारका लागि ठूलै विपत्ति निम्त्याएको छ । पन्चक र यम पन्चकको छूतले पूरै समाज ग्रस्त छ । छाउपडीका वेला घर र परिवारवाट पन्छिएर वसेका आइमाइको पन्चकको छूत लागेका वेला मृत्यु भइदियो भने के होला ?
कि लोकतन्त्रको जन्मलाई पनि यम पन्चकको दोषले छोएको छ ? कतै लोकतन्त्र नै अपांग जन्मिएको त छैन ? नत्रभने किन त इतिहास वुझन खोज्नेहरु निरन्तर भट्टीको संघारमा उभिएर समयलाई अगाडी धकेल्ने निष्फल चेष्टा गर्दैछन ? किन मानिस परिवर्तनका आनन्दबाट वन्चित छ ?
चिन्ता र दुष्चिन्ताबाट मुक्त हुन खोज्दैछ सागर । एकपटक फेरी छालहरुसंग लुटपुटिएर आफूलाई पुनर्जीवन दिने प्रयत्न हो यो । मानिस न छालहरुवाट उम्किन सक्छ, न शिखरवाट भाग्न सक्छ ।

© Kishore Nepal. All rights reserved.