Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

कसै माथि अनुचित प्रभाव पार्ने काम म कहिल्यै गर्दिन : शरद्‍चन्द्र शाह

२०४२ फागुन २६ गते देशान्तरमा प्रकाशित शरद्‍चन्द्र शाहसितको अन्तर्वार्ताः

किशोर :  तपाईलाई सार्वजनिक जीवनमा लाग्ने उत्साह कहाँबाट प्राप्त भयो?
शाह :  मेरो छात्र जीवनको अन्तिम भाग बेलायतमा बित्यो। त्यहाँ मैले आफ्ना जिन्दगीका उद्देश्यहरू बारे गम्भीर चिन्तन मनन गर्ने प्रशस्त अवसर पाएँ। त्यस बेला अन्य प्रलोभन तिर आकर्षित नहुनुको कारणले मैले पढाईका अतिरिक्त पाएको समयमा आफ्नो जिन्दगीको उद्देश्य के हो भन्ने सोच्नमा लगाएँ। मैले त्यसै बेला श्रीमद् भागवद् गीताको विस्तृत अध्ययन गरें। म मा जसरी हुन्छ, जुन तरिकाबाट हुन्छ तन, मन, धन अर्पण गरेर मातृभूमिको सेवा गर्नु पर्छ भन्ने भावनाको उदय भयो। त्यही अनुरूप जबसम्म म सक्षम छु म देशको सेवामा आफ्नो सम्पूर्ण क्षमता लगाइरहन्छु। यो मेरो बानी नै भइसकेको छ।

किशोर :  तपाईंको जीवनमा कुनै त्यस्तो रोमांचक क्षण आएको होला–जसलाई तपाईं आफ्नो स्मृतिमा राखिराख्न चाहनुहुन्छ?
शाह :  कुनै पनि उद्देश्य प्राप्तिका निमित्त गार्ह्रा –गार्ह्रा  चुनौतिहरूलाई स्वीकार्दै काम गर्दा जब उपलब्धि हासिल हुन्छ, त्यस बेलाको अनुभूति निश्चय नै रोमांचक हुन्छ। मेरो जिन्दगीमा यस्ता निकै अनुभवहरू छन्। सफलता असफलता भनेको त बेग्लै कुरा हो।

किशोर :  तपाईको दृष्टिमा ठूला उपलब्धि के हुन्?
शाह :  मेरा सामुन्ने खेलकुद जगतकै चुनौतिहरू छन्। खेल जगतका राष्ट्रिय, अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा, निकै ठूला चुनौतिहरूको हामीले सामना गर्यौं । विभिन्न अन्तर्राष्ट्रिय समितिहरूमा लडिएका चुनाव र नयाँ नयाँ खेलहरूको स्थापना गर्ने क्रममा पाएको सृजनात्मक सफलता निश्चय नै हाम्रा लागि ठूला उपलब्धि हुन्।

किशोर :  यस्ता चुनौतिहरू सामना गर्दा आउने अवरोधहरूलाई कसरी हटाउने गर्नुभएको छ?
शाहा :  अवरोधहरू विभिन्न किसिमका छन्। हाम्रो अघिल्तिर सधै रहिरहने अवरोधहरू हटाउनमा हाम्रो विभिन्न किसिमका सीमाहरू छन्। आर्थिक स्रोतका कमीहरू छन्। यस्ता कतिपय अवरोधसँग जुध्न आफ्नो मेहनत, आँटले परिश्रम गर्दै जानुपर्छ भने कतिपय अवरोध वैमनष्यता र इर्ष्याका कारणले खडा गरिएका हुन्छन्। वैमनष्यताका यस्ता प्रवृत्तिलाई समाप्त पार्न मैले त्यसको मूल तहसम्म जाने गरेको छु।

किशोर :  यसका लागि निकै ठूलो मेहनत गर्नुपर्छ होला? समय र श्रमको सन्तुलन तपाई कसरी मिलाउनु हुन्छ?
शाहा :  बेलायतमा अध्ययन सकेर फर्केपछि मैले सबभन्दा पहिले आफ्नो सेवा पंचायत प्रशिक्षण केन्द्र, नेपालगंजबाट शुरू गरे। म सामुदायिक सेवाको अनुदेशक पद सम्हालेर गए तापनि एउटा यस्तो अवस्था थियो जसमा एकैसाथ दशवटा विभिन्न पदहरू सम्हालेर लगभग अठ्ठार घण्टासम्म काम गर्दथे। त्यस बेलादेखि नै निरन्तर काम गर्ने बानी बस्यो। खटेर बढी समय सम्म काम गर्ने बानी मेरो लागि अनौठो होइन। तर जति चाहिएको छ त्यति गर्न सकिरहेको छैन। समयको अभावले गर्दा मैले अध्ययन गर्ने समय पाएको छैन, अलि–अलि लेख्ने गर्थे, त्यो पनि गर्न पाएको छैन। यसैको अलि चुकचुकी लाग्छ।

किशोर :  यहाँनिर म तपाईंसँग एकैसाथ दुईवटा प्रश्न गर्न चाहन्छु। तपाईंले भर्खरै आफ्नो जीवनक्रम पंचायत प्रशिक्षण केन्द्रबाट शुरू गरेको कुरा बताउनु भयो। यसको कुन पक्ष राजनीति वा विकासले तपाईंलाई प्रभावित पारेको सोच्नु हुन्छ?
दोस्रो, तपाईंले गीत र कविता पनि लेख्नु भएको भेटिएको छ। तपाईंलाई राम्रो लाग्ने गीत के हुन सक्छ?
शाहा :  शुरूमै पंचायत प्रशिक्षण केन्द्रमा काम गरेको र पंचायतसँग मेरो निकट सम्पर्क भइ नै रहेकोले तपाईले उल्लेख गर्नु भएको दुवै पक्षलाई मैले उत्तिकै आत्मसात गरेको छु। र जहाँसम्म कविता र गीतको प्रश्न छ, म पश्चिमी कविताहरूमा 'रोमान्टिक रिभाइभलिस्ट' कविहहरू वर्डसवर्थ, शेली र किट्सबाट प्रभावित छु। मलाई मनपर्ने कवि स्यामुअल टेलर कलरिज हुन् र जहाँसम्म लेख्ने कुरा छ, आजकल मेरो जीवनयापनको क्रममा निकै भ्रमण पर्दछ। विशेष गरेर जब म हवाइजहाजमा एक्लै हुन्छु र मेरो वरिपरि चिन्हेका मानिसहरू पनि हुँदैनन् त्यसबेला म एकान्तको अनुभव गर्छु। यो एकान्त मेरो जीवनमा अक्सर प्राप्त हुँदैन, त्यसैको सदुपयोग गरेर म लेख्ने गर्दछु।

किशोर :  तपाईलाई एलेन गिन्सवर्ग कस्तो लाग्छन्?
श्ााहा :  एलेन गिन्सवर्ग अहिलेको दृष्टिकोणबाट उपयुक्त हुन्। म मा विशेष प्रभाव त उनको छैन। विभिन्न किसिमका लेखकहरू मध्ये उनलाई पनि मैले एउटा साधारण कविको रूपमा लिएको छु।

किशोर :  एउटा चेतनशील नेपालीको हैसियतले मुलुकको आर्थिक स्थितिको विश्लेषण कसरी गर्न चाहनुहुन्छ?
श्ााहा :  हाम्रो अघिल्तिर जति पनि आर्थिक चुनौतिहरू छन्, त्यसलाई सामना गर्न हामीमा अझै यथेष्ट रूपमा अनुशासन चाहिन्छ जस्तो मलाई लाग्छ।

किशोर :  चाहिने जति अनुशासन पुगेको छैन भन्न खोज्नु भएको हो?
शाहा :  मेरो जीवनयापन क्रमको मुख्य मकसद एउटा अनुशासित पिंढी तयार पार्नु हो। अहिले खेल जगतबाट जे–जति प्रयासहरू भैरहेको छ–मलाई के लाग्छ भने भोलि हाम्रो सफलताको क्रममा कर्णाली जस्ता ठूला–ठूला योजनाहरू सफल भएर नेपालीको औसत आम्दानीको स्रोत धेरै बढ्दै गए पनि जबसम्म एउटा अनुशासित पिंढीको सृजना हुँदैन आर्थिक सम्पन्नताले मात्र देश विकास हुन्छ जस्तो मलाई लाग्दैन। जति पनि विकसित राष्ट्रहरू छन् ती राष्ट्रको विकासको पछिल्तिर राष्ट्रिय अनुशासनको ठूलो भूमिका छ। त्यसैले यो खेल जगतको विस्तारबाट बढी भन्दा बढी अनुशासित पिंढी सिर्जना गर्ने मेरो उद्देश्य छ। त्यो अनुशासित पिंढी तयार भएपछि हाम्रो देशको आर्थिक चुनौतिको सामना गर्नका लागि चाहिने अनुशासन पनि पर्याप्त मात्रामा हुन्छ भन्ने मलाई लागेको छ।

किशोर :  अनुशासित पिंढी भनेर तपाईंले के संकेत गर्न खोज्नु भएको हो? व्याख्या गरिदिनु हुन्छ कि?
शाहा :  देश विकासका क्रममा हरेक पक्षमा सफलता प्राप्त गर्नका लागि व्यक्ति व्यक्तिले त्याग र बलिदान गर्नै पर्दछ। त्याग र बलिदान गर्ने बानी अनुशासनको माध्यमबाट मात्र बस्न सक्छ। खेल जगतकै उदाहरण लिउ— फुटबल खेल्दा टाढा हानेर मात्रै हुँदैन, माथि हानेर पनि काम लाग्दैन, बललाई गोल पोष्टमै छिराउन पर्दछ। आफूलाई दिईएको काममा त्यति विघ्न तन मन नलगाउने र बढी गफ गर्ने हो भने राष्ट्र कसरी चल्छ? चिन्तामा मात्र धेरै समय बिताउने तर सकारात्मक रूपमा आफूले दिन सक्ने योगदान प्रति त्यति विश्वास नगर्ने प्रवृतिहरू पनि छन्। यसैलाई निराकरण गर्न बढी अनुशासन चाहिन्छ?

किशोर :   पश्चिमी प्रजातन्त्रको प्रभाव तपाईंमा कत्तिको परेको छ?
शाहा :  महात्मा गान्धीको एउटा उक्ति मेरो स्मृतिमा हमेशा रहीरहेको छ “म संसारमा चल्ने सबै हावाहरूलाई आफ्नो कोठाभित्र निम्त्याउछु, तर कुनै हावाले पनि मलाई उडाउन सक्दैन।” मैले पाश्चत्य प्रजातन्त्रदेखि संसारका सबै वादहरू बारे अध्ययन गरेको छु। ४० राष्ट्र भन्दा बढीको भ्रमण गर्ने मौका पाएको छु। यी देशहरूका शासन व्यवस्था बारे प्रत्यक्ष रूपमा अनुभव गरेको पनि छु। यिनका राम्रा नराम्रा कुराहरूसित म प्रत्यक्ष परोक्ष रूपबाट विज्ञ पनि छु।

किशोर :  तपाई आफूलाई कस्तो राष्ट्रवादी सोच्नु हुन्छ?
शाहा :  परिभाषा गर्नुभन्दा पनि चरम राष्ट्रवादको सिद्धान्त अपनाएर अथवा राष्ट्रवादको खोल ओढेर स्वार्थ पूर्ति गर्न आफू अगाडि बढ्ने प्रयास म गर्दिन। देश विकासका लागि परिस्थिति अनुरूप सरकार राजाको सदिच्छा अनुरूप राष्ट्रलाई कसरी बल पुर्या्उन सकिन्छ त्यसतर्फ उद्यत हुनुलाई नै म आफ्नो सिद्धान्त कर्तव्य र वाद सम्झन्छु।

किशोर :  तपाईंसँग जोडिएका केही विवादग्रस्त विषयहरू छन् जस्तो पंचायत भित्रकै राजनीति गर्ने एक पक्षले तपाईमाथि विभिन्न आरोप लगाइरहेका छन्। तपाईं ती आरोपहरूको जवाफ किन दिन चाहनुहुन्न?
शाहा :  म अमेरिकाबाट फर्केर आउने बित्तिकै मैले होटल शंकरमा एउटा पत्रकार सम्मेलन डाकेको थिएँ।  त्यसमा लगभग १०० जना भन्दा बढी पत्रकारहरू हुनुहुन्थ्यो। नेपालका मात्र होइन, दक्षिण एशियाली क्षेत्रका यहाँ स्थित सम्पूर्ण प्रतिनिधिहरू समेत हुनुहुन्थ्यो। त्यो बेलामा म माथि आरोपित सम्पूर्ण आरोपहरूको मैले जवाफ दिएको थिएँ। अब पत्र–पत्रिकामा कसैले लेख्छ पत्रपत्रिकामै फेरि जवाफ दिदै गन्थन गरिरहने न मलाई इच्छा नै छ, न मलाई फुर्सद नै छ।

किशोर :  तपाईंलाई भूमिगत गिरोहको नाइके पनि भन्छन्।
शाहा :  मैले त्यहीं पत्रकार सम्मेलनमा भनेको थिए मसँग मेरा सहयोगीहरू मेरा दायाँ बायाँ यही टेबल वरिपरि बसेका छन्। अब तपाईं आफै भन्नोस् म भूमि मुनि छु कि भूमि माथि। यस्ता सबै प्रश्नको मैले जवाफ दिएको छु र अझै जवाफ चाहिन्छ भने त्यसका लागि सँधै तयार छु। म देश भरी भ्रमण गरिराखेकै हुन्छु। जहाँ पनि जति पनि मानिसहरू भेट हुन्छन्, सबैबाट मैले सौहार्द्रता प्राप्त गरेकै छु। मेरो बारे भएका अनर्गल प्रलापहरूले म प्रति समाजका कुनै नकरात्मक धारणा सृजना गरेको छ जस्तो मलाई लाग्दैन। मेरा अघिल्तिर कुनै पनि मानिसले यस्ता किसिमका प्रश्नहरू सत्य हो कि होइन? भनेर सोधेका पनि छैनन्। पछिल्तिरबाट खुट्टा तान्न खोज्नेहरूप्रति ध्यान दिएर आफ्नो उद्देश्यबाट विचलित हुने मानिस म होइन।

किशोर :  शासन र प्रशासन संचालनको हरेक क्षेत्रमा तपाईंको गहिरो पकड छ भन्ने आरोप बारे तपाईं के भन्नुहुन्छ?
शाहा :  मैले आफ्नो सार्वजनिक जीवन पंचायत प्रशिक्षण केन्द्र, त्यस बेलाको विकास समिति, गृह मन्त्रालय बाट शुरू गरे। श्री ५ को सरकारको कर्मचारीका रूपमा धेरै मित्रहरू बनाएँ, त्यसपछि 'सेडा' मा काम गरे। त्यहाँ पनि धेरै बुद्धिजीवी मित्रहरू कमाएँ। खेलकूद क्षेत्रमा आएको पनि अब आठ वर्ष बढी भइसक्यो। म दुई तीन वटा कुरा सधै कायम राख्दछु। सबभन्दा पहिलो कुरो एक चोटी प्राप्त गरेको मित्रता म सधै कायम राख्दछु। दोश्रो कुरा, आफ्नो पद र सम्बन्धको नाजायाज फाइदा उठाएर कसैलाई दबाउने, कसैको शोषण गर्ने, कसै माथि अनुचित प्रभाव पार्ने काम म कहिल्यै गर्दिन। तेश्रो कुरा, म आफ्नो क्षेत्रमा एकनास मेहनत गरी सकेसम्म उपलब्धिहरू प्राप्त गर्ने कोशिस गर्दछु, जसले गर्दा विभिन्न क्षेत्रमा काम गरेको अनुपातमा मानिसले मप्रति आदर भावले हेर्दछन्। समाजको सबै क्षेत्रमा म प्रति र मेरो पनि उत्तिकै सद्भावना छ। त्यसैले प्रशासनमा मेरो पकड होइन–यही सद्भावना र सम्पर्कको प्रभाव हुनसक्छ।

किशोर :  शायद मेरो प्रश्न स्पष्ट भएन। जस्तो कि सूर्य बहादुर थापाजीले नै तपाई माथि आरोप लगाउनु भएको छ र किटानी साथ आरोप लगाउनु भएको छ, उहाँको सरकारलाई अपदस्थ गराउनमा तपाईंको सबभन्दा ठूलो हात थियो।
शाहा :  म माथि लगाइने आरोपहरूका बारे त तपाईलाई थाहै छ। मास्कोमा खेल्न गएको नेपाली खेलाडीले बक्सिङ खेल्न नसकेपछि म स्वयं त्यहाँ खेल्न गएँ भन्ने देखि स्मगलिङ गरेको सम्मका आरोपहरू लागेका छदैछन्। यसमा विभिन्न राजनैतिक आरोपहरू पनि लागेका छन्। राजनीतिक पक्षमा सरकार राख्ने, सरकार ढाल्नेमा मेरो कुनै भूमिका छैन। यसमा तपाई निश्चित हुनु होस्।

किशोर :  म त निश्चित हुँला, तर तपाईं माथि आगामी महानिर्वाचनमा ठूलो भुमिका खेल्दै हुनुहुन्छ भन्ने आरोप छ।
शाहा :  खेलकूद जगतको विकासका लागि संसारको सम्पूर्ण देशमा हेर्नोस्— खेलकूद क्षेत्रमा नेतृत्व प्रदान गर्ने व्यक्तिहरूमध्ये कति राजनैतिक क्षेत्रबाट पनि आउदैछन्। अब कर्मचारीले मात्र हुँदैन, खेलाडीले मात्र गरेर पनि हुने भएन, राजनैतिक जगतका व्यक्तिहरूको शक्ति पनि बढी हुन्छ र उनीहरूले यस क्षेत्रको विकासमा बढावा पनि गर्न सक्छन्। हिन्दूस्थानलाई हेर्नोस्, त्यहाँ राष्ट्रिय संघ संस्थाहरूमा आधाभन्दा बढी राजनीतिक व्यक्तिहरू छन्। विभिन्न ठाउँमा त्यस्तै छ। त्यसैले नेपालमा पनि राजनीतिक जगतसँग सम्बन्धित व्यक्तिहरू खेल जगतसँग सम्बन्धित छन्। ती व्यक्तिहरूसँग मेरो सम्पर्क, सम्बन्ध त हुने नै भयो। अब मानिसले के विचार गर्ने भए भने तिनलाई मैले राजनैतिक क्षेत्रबाट पनि बल पाउने भएँ। राजनैतिक क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै मेरा साथीहरू छन्। तर यसको मतलब मैले खेल जगतलाई राजनैतिक रूपमा प्रयोग गर्ने अथवा आगामी निर्वाचनमा मैले नै आफ्नो समूहको व्यक्तिहरू लडाउने भन्ने कुराहरू होइनन्।

किशोर :  के यी प्रचारहरू मात्र ईष्याका कारणले भएका हुन् त?
शाहा :  कुनै पनि क्षेत्रमा विकासका निश्चित लक्षणहरू देखा परेपछि त्यसप्रति अलिकति ईष्याको भावना देखिन्छ। यो 'कन्सेप्ट अफ लिमिटेड होराइजन' को कारणले हो। जस्तो एउटा सानो टुक्रा मिठाई छ, त्यसबाट तपाईले अलि ठूलो भाग लिन लाग्नु भयो भने मलाई के लाग्छ भने तपाईले मेरो भाग पनि खोस्न लाग्नु भयो। सानो ठाउँ छ, महत्वपूर्ण पदहरू पनि थोरै नै छन्। अब कसैले विकासको क्रममा राम्रो उदाहरण प्रस्तुत गर्दै गयो भने, यो मान्छे छिट्टै अगाडि बढ्ला भन्ने इर्ष्या विभिन्न मानिसहरूमा उत्पन्न भएको हुन्छ। यो निश्चय नै अनर्गल प्रचार हो।

किशोर :  खेल जगतमा अहिले अन्य क्षेत्रको तुलनामा जति लगानी भएको छ, खेलकूद विकासको लागि जसरी चन्दा उठाइएको छ त्यो न्यायसंगत छैन भन्ने धेरैको गुनासो छ।
शाहा :  साधन विना कुनै विकास सम्भव हुँदैन। अब साधन जगेर्ना गर्ने कुरा कति न्यायसंगत छ? अञ्चल खेलकूद विकास समितिहरूलाई चन्दा उठाउने स्वीकृति प्राप्त छ। यस्तो चन्दालाई एकरूपता दिनुपर्छ भन्ने सुझाव चन्दादाताहरूबाटै आएको छ। नत्र भने अञ्चल खेलकुद विकास समितिको अध्यक्षले व्यापारीसँग यति चन्दा दिनुपर्छ भन्यो, अनुरोध गर्योस। अब अध्यक्षको अनुरोधको पछाडि अलिकति शक्ति त अवश्य नै हुन्छ।

किशोर :  तपाई ले यो चन्दालाई बाध्यात्मक बनाउन खोज्नु भएको हो कि होइन?
शाहा :  हेर्नोस्, संसारमा जहाँ पनि चन्दा उठाउने कुराको पछिल्तिर अलिकति वाध्यता हुँदैन भन्न सकिन्न। अहिले जति पनि चन्दा उठेका छन् त्यो बाध्यता नभइ खुशी राजीसँग उठेको हो म भन्दिन। यो प्रष्ट कुरो हो। कुन मात्रामा कतिसम्म वाध्यता छ त्यो पछाडिको कुरा हो। यसैले व्यापारीहरूसँग प्रत्यक्ष रूपमा चन्दा नउठाई यसलाई ठेक्कामा दिइएको हो। यसमा खेलकूद परिषद्को कुनै भूमिका छैन। यो बिस्तारै स्वतः विकसित हुँदै आएको कुरा हो। यसैले कानूनी दृष्टिकोणबाट यो चिजको यति पैसाको दरले चन्दा उठाउने भनेर तोक्न कहाँबाट मिल्छ भन्नुहुन्छ भने सत्य हो त्यो मिल्दैन।

किशोर :  श्री ५ महाराजाधिराजबाट एक्काइसौं शताब्दीको प्रारम्भसम्ममा एशियाली मापदण्ड अनुसार सबै नेपालीको लागि आधारभूत आवश्यकता पूरा गर्ने आजको जस्तो हाम्रो स्थितिमा १५ वर्षमा यी आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भन्ने तपाईंलाई लाग्दछ?
शाहा :  श्री ५ महाराजाधिराज सरकारबाट कुनै कुराको आह्वान बक्सनुभएको छ भने त्यो पूरा गर्नु सम्पूर्ण नेपाली मात्रको कर्तव्य हो। त्यो आधारमा हामी गर्न सक्तछौं भन्ने मलाई लाग्छ। मैले मेरो क्षेत्रमा, सरकारबाट त्यो आह्वान बक्सनु भएको एक हप्ता भित्रमा यो शताब्दीको अन्त्यसम्ममा नेपालमा खेलकूद के कस्तो हुनुपर्छ भन्ने सुझाव सबैबाट मागिसकेको छु। यसबारे हामी एउटा सम्मेलन पनि गर्दैछौं। हाम्रो दृष्टिकोणबाट यस शताब्दीको अन्त्यमा नेपालले खेलकूदको स्तर कहाँ पुर्यागउनु पर्दछ, यसका लागि कुन बाटो अपनाउने भन्ने बारे राष्ट्रिय खेलकूद प्रशिक्षण केन्द्रले एक वर्ष भित्रै किताब निकाल्दै छ। यस्तै राष्ट्रको विभिन्न क्षेत्रमा कसरी कुन बाटोबाट यी आधारभूत आवश्यकताहरू पूरा गर्न सकिन्छ, सोच्नु पर्छ।

किशोर :  आगामी महानिर्वाचनमा तपाईं सल्यानबाट चुनाव लड्दै हुनुहुन्छ?
शाहा :  यो एकदमै असत्य कुरा हो। अन्तर्राष्ट्रिय युवा वर्ष अन्तर्गत ७५ जिल्लामा ७५ वटा परिचयात्मक गोष्ठी गर्नु भन्ने अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समितिका अध्यक्ष सरकारको निर्देशन अनुरूप विभिन्न राष्ट्रिय समितिका सदस्यहरू विभिन्न जिल्लाको जिम्मा लिएर गए। सल्यान र प्यूठान जिल्ला मेरो जिम्मामा परेकोले म सल्यान जिल्ला गइरहनु पर्ने भयो। यसले गर्दा विभिन्न मानिसहरूले विभिन्न कुराहरू सोचे। तर मलाई सरकारको निगाहबाट खेल जगतमा एउटा महत्वपूर्ण भूमिका बक्सनु भइरहेको छ भने त्यो छाडेर चुनाव लड्न जाने धृष्टता गर्ने कुरै भएन।

किशोर :  आफ्नो बारे विभिन्न किसिमका चर्चाहरू सुन्दा कस्तो अनुभव गर्नुहुन्छ?
शाहा :  श्रीमद्भागवद् गीतामा एउटा श्लोक छ—
'यदा ते मोह कलिलं बुद्धिर्व्यति
तरिंष्यतिं
तदा गन्तासि निर्वेदं श्रोतब्यस्त
श्रूतस्य च।'
– तिम्रो बुद्धि मोहको छायाँबाट मुक्त भैसकपछि सुनिएको र सुन्न बाँकी कुराका बारे तिमीलाई केही पनि वास्ता हुँदैन।

© Kishore Nepal. All rights reserved.