कसै माथि अनुचित प्रभाव पार्ने काम म कहिल्यै गर्दिन : शरद्चन्द्र शाह
- Published in अन्तर्वाता
- Be the first to comment!
- Read: 3129 times
२०४२ फागुन २६ गते देशान्तरमा प्रकाशित शरद्चन्द्र शाहसितको अन्तर्वार्ताः
किशोर : तपाईलाई सार्वजनिक जीवनमा लाग्ने उत्साह कहाँबाट प्राप्त भयो?
शाह : मेरो छात्र जीवनको अन्तिम भाग बेलायतमा बित्यो। त्यहाँ मैले आफ्ना जिन्दगीका उद्देश्यहरू बारे गम्भीर चिन्तन मनन गर्ने प्रशस्त अवसर पाएँ। त्यस बेला अन्य प्रलोभन तिर आकर्षित नहुनुको कारणले मैले पढाईका अतिरिक्त पाएको समयमा आफ्नो जिन्दगीको उद्देश्य के हो भन्ने सोच्नमा लगाएँ। मैले त्यसै बेला श्रीमद् भागवद् गीताको विस्तृत अध्ययन गरें। म मा जसरी हुन्छ, जुन तरिकाबाट हुन्छ तन, मन, धन अर्पण गरेर मातृभूमिको सेवा गर्नु पर्छ भन्ने भावनाको उदय भयो। त्यही अनुरूप जबसम्म म सक्षम छु म देशको सेवामा आफ्नो सम्पूर्ण क्षमता लगाइरहन्छु। यो मेरो बानी नै भइसकेको छ।
किशोर : तपाईंको जीवनमा कुनै त्यस्तो रोमांचक क्षण आएको होला–जसलाई तपाईं आफ्नो स्मृतिमा राखिराख्न चाहनुहुन्छ?
शाह : कुनै पनि उद्देश्य प्राप्तिका निमित्त गार्ह्रा –गार्ह्रा चुनौतिहरूलाई स्वीकार्दै काम गर्दा जब उपलब्धि हासिल हुन्छ, त्यस बेलाको अनुभूति निश्चय नै रोमांचक हुन्छ। मेरो जिन्दगीमा यस्ता निकै अनुभवहरू छन्। सफलता असफलता भनेको त बेग्लै कुरा हो।
किशोर : तपाईको दृष्टिमा ठूला उपलब्धि के हुन्?
शाह : मेरा सामुन्ने खेलकुद जगतकै चुनौतिहरू छन्। खेल जगतका राष्ट्रिय, अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा, निकै ठूला चुनौतिहरूको हामीले सामना गर्यौं । विभिन्न अन्तर्राष्ट्रिय समितिहरूमा लडिएका चुनाव र नयाँ नयाँ खेलहरूको स्थापना गर्ने क्रममा पाएको सृजनात्मक सफलता निश्चय नै हाम्रा लागि ठूला उपलब्धि हुन्।